नेपालले आयरल्यान्ड ‘ए’ लाई दियाे जितका लागि १९९ रनको लक्ष्य

काठमाडौं, १३ चैत्र । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० क्रिकेट खेलमा नेपालले १ सय ९९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो ।

नेपालका गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए । चौथो विकेटका लागि गुलशन र रोहित पौडेलले ७१ रनको साझेदारी गरेका थिए ।

कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए ।

सन्दीप जोराले १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेल ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे । आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले एक/एक विकेट लिए ।

नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो ।