नेप्सेमा सामान्य अंक वृद्धि

काठमाडाैं, १३ चैत्र । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक १०.१४ अंक बढेर २०४१.७० विन्दुमा पुगेको हाे।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४९ हजार ५१२ पटकको कारोबारमा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दोल्टी पावर कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विन नेपाल लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम ८ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढेको छ।