नाला करुणामय मूर्तिमा रंगरोगन ‘लंपुं छाये’ (तस्बिरहरू)

काभ्रेपलाञ्चाेक, १४ चैत्र । काभ्रेपलाञ्चाेककाे नालामा रहेको करुणामय भगवानकाे मूर्तिमा रंगरोगन गरिएकाे छ । नाला करुणामयको जात्रा तयारीका लागि रंगरोगन गरिएकाे हाे ।

यस अघि चैत्र कृष्ण प्रतिपदाको दिन अर्थात् होलि पुर्णिमाको भोलिपल्ट करुणामयको महास्नान गर्ने गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘करुणामयया न्हवं’ भनिन्छ ।

यसरी करुणामयको महास्नान गराइसकेपछी उनको प्राणलाई मूर्तिबाट सारेर ब्रम्हकलशमा राखिन्छ ।

त्यसको भोलिपल्ट करुणामयकाे मूर्तिलाई घाममा राखी ‘लंपुं छाये’ कर्म गरिन्छ । देवताको मूर्तिमा पुरानो रंग कोतारेर निकाल्ने र त्यसमाथि नयाँ रंगरोगन गर्ने कार्यलाई ‘लंपुं छायेगु’ भनिन्छ । ‘लंपुं छायेगु’ कार्यपछि करुणामयको मूर्ति नयाँ र सफा देखिन्छ ।

यसरी मूर्तिमा रंगरोगन गरेपछी नाला करुणामयको हरेक वर्ष चैत्र कृष्ण तृतियाको दिन खटमा राखी नालाको नगर परिक्रमा गराइ जात्रा गर्ने परम्परा रहेको छ ।

नाला करुणामय प्राचीन नेपालमण्डलको ४ प्रमुख करुणामयहरु मध्ये एक हुन्।