१४ औँ इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान, १५ चैत । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टि सु्टआउटका आधारमा नेपाल आर्मीको त्रिभुवन आर्मी २–१ गोल अन्तरले विजयी भएको हो ।

पेनाल्टि सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरीले मात्र गोल गर्न सफल भए ।

बुधबारको खेलमा म्यान अफ द म्याचको उपाधि आर्मीका गोलरक्षक विकेस कुथुले हात पारे । उनलाई नगद १० हजार प्रदान गरिएको थियो ।

आज गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लब भिड्ने छन् ।