चीन भ्रमणबाट फर्कदै उपप्रधानमन्त्री श्रेष्ठले भने, दुई मुलुकबीचको आपसी विश्वास थप सुदृढ बनेकाे छ
काठमाडौँ, १९ चैतः उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएकाे छ ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भ्रमणबाट दुई देशको विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्याएको बताउनुभएकाे हाे ।
चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरोका केन्द्रीय कमिटी सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीन भ्रमणमा रहनुभएको थियो । भ्रमणका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी यीलाई यसैवर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिनुभएको छ ।
उहाँले दुई देशबीचको आपसी सहयोग र सहकार्यका क्षेत्रमा विस्तृत र स्पष्ट छलफल भएको बताउनुभयो । भ्रमणले नेपाल र चीनबीच विद्यमान सदियौं पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गरेको छ भन्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।
सन् २०१२ मा दुई देशबीच भएको सम्झौताबमोजिम सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई चीनको तिब्बतमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बस सेवा पुनः सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको जानकारी दिनुभयो । उहाँले सीमाका केही क्षेत्रमा बहुआयामिक प्रयोगशाला स्थापना र नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पूँजी र प्रविधि उपलब्ध गराउन गर्न आग्रह गरिएको पनि बताउनुभयो ।
भ्रमणका अवसरमा नेपालको काठमाडौँ र पोखरा तथा चीनका विभिन्न सहरबीच थप हवाई उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएका छन् । यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
काठमाडौँमा आगामी वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताको बढीभन्दा बढी सहभागिताका जनाउन, नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउन र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरिएको उहाँले जनाउनुभयो ।