इलामेली मतदाताको मन पगाल्दै शालीन र मृदुभाषी सुहाङ (१४ तस्बिर र भिडियोसहित)

इलाम, १९ चैत । सुहाङ नेम्वाङको अहिले दैनिकी फेरिएको छ । शालीन र मृदुभाषी सुहाङलाई नेकपा (एमाले)ले आगामी १५ वैशाखमा हुने संघीय उपनिर्वाचनमा इलाम– २ बाट उम्मेदवार बनाएपछि अहिले उहाँ मतदाताको घरदैलोमा पुग्न व्यस्त बन्नुभएको छ ।

एमालेले उम्मेदवार बनाउने निर्णय गरेसँगै काठमाडौंबाट बुधबार निर्वाचन क्षेत्र प्रस्थान गर्नुभएका नेम्वाङ अहिले चुनावकेन्द्रित भेटघाट, छलफल र बैठकहरुमा व्यस्त बन्नुभएको छ ।

काठमाडौंबाट गृहजिल्ला प्रस्थान गर्ने क्रममा बुधबार साँझ दमकस्थित दमक क्याम्पसमा अध्ययनरत इलामका विद्यार्थीहरूसँग पहिलोपटक चुनावकेन्द्रित भेटघाट गरेर इलाम उक्लिनु भएका नेम्वाङको चुनावनी अभियान दिनप्रतिदिन व्यस्त बन्न थालेको छ । अहिले उहाँ जिल्ला, नगर र वडा कमिटीसम्मका बैठकमा सहभागी हुँदै आउनु भएको छ भने मतदाताका घरदैलोमा पनि नियमित भेटघाटमा व्यस्त हुनुहुन्छ । समकालिन व्यक्तिहरु, सामाजिक व्यक्तित्वहरूसँगको भेटघाट र अन्तक्रियालाई पनि उहाँले नियमित गर्दै आउनु भएको छ ।


नयाँ पुस्ताका युवाहरूसँग बढी घुलमिल र अन्तरक्रियामा सहभागी नेम्वाङको शालीन र मृदुभाषी स्वाभावले अहिले हरेक उमेर, समुदाय र वर्गलाई पनि उत्तिकै तानिरहेको छ । पिता सुवास नेम्वाङको जस्तै शब्दहरु तौलिएर बोल्ने मात्रै होइन उहाँको सुझ–बुझको क्षमतालाई पनि उहाँ जहाँ–जहाँ मत माग्दै पुग्नुहुन्छ, त्यहाँत्यहाँ प्रभावित पारिरहेको छ ।

विकास र समृद्धिका कुरामा मात्रै होइन युवाको जोस, उर्जा र भविष्यका विषयमा समेत उहाँले भेटघाटका क्रममा प्राप्त जिज्ञासाहरुमा समेत उहाँ शालीन ढंगले प्रस्तुत हुँदै आउनु भएको छ । जसले गर्दा मतदाता उहाँप्रति थप आकर्षित भएका छन् ।

आज मात्रै पनि उहा इलाम नगरपालिकाका वडाहरुमा चुनावी अभियानमा सहभागी हुनुभएको छ । उहाँ सहभागी अभियानमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता रहँदैँ आएको छ भने मतदाताको मन तान्न उहाँ सफल हुँदै आउनु भएको छ । चुनावी अभियानकै क्रममा मतदाताको घरदैलोमा पुग्दा एक महिलाले सुहाङको अनुहार एक पटक हेर्न मन भएको भन्दै निकै उत्साहित हुँदै ‘मेरो एक भोट सुहाङलाई’ भनेको आवाजसहितको भिडियो अहिले भाइरल भनेको छ ।