गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी

कास्की, २५ चैत । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गर्नुभएको थियो । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिएका थिए ।