राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज, नेकपा एमालेकी घिमिरेकाे पक्षमा स्पष्ट बहुमत

काठमाडाैं, २८ चैत्त । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज बुधबार हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने छ।

सङ्घीय संसद् सचिवालयका अनुसार उपाध्यक्षमा नेकपा (एमाले) की विमला घिमिरे र कांग्रेसकी विष्णुदेवी पुडासैनी गरी दुईजनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ । गठबन्धनमा रहेका दलहरूमध्ये माओवादी केन्द्रसँग १६, नेकपा (एमाले) सँग १०, नेकपा (एकीकृत समाजवादी) सँग ८ र जनता समाजवादी पार्टी (जसपा) सँग ३ सदस्य छन् ।

५८ सदस्यीय राष्ट्रियसभामा उपाध्यक्ष चुनिन कम्तिमा ३० जना सांसदले समर्थन गर्नुपर्छ । घिमिरेको पक्षमा स्पष्ट ३७ सांसद देखिन्छन् । यसअनुसार घिमिरेको पक्षमा स्पष्ट बहुमत देखिन्छ ।

यता कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी पुडासैनीको पक्षमा भने अहिलेसम्म उनकै दलको मात्रै मत देखिन्छ । राष्ट्रिय सभामा कांग्रेससँग १६ सांसद छन् ।