नेपाली काङ्ग्रेसलगाएतका प्रतिपक्षी दलहरुले गरे प्रतिनिधि सभाको बैठक अवरुद्ध

काठमाडौं, २८ चैत । नेपाली काङ्ग्रेसलगाएतका प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।

प्रतिनिधि सभाको आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडालाई बोल्न समय दिएका थिए ।
आफ्नो धारणा राख्दै सांसद खतिवडाले रास्वपा सभापति रवि लामिछानेविरुद्ध पोखरामा प्रहरीले अनुसन्धान जारी राखे पनि काठमाडौंमा गठबन्धन परिवर्तन भएलगत्तै अनुसन्धान रोकिएको दाबी गरे ।

आकस्मिक समयमा बाेल्दै राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सहकारीको विषयमा संसदीय छानबिन समिति गठनको माग गरे ।

आकस्मिक समय सकिएलगत्तै शून्य समयमा प्रवेश गर्ने क्रममा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसद् अवरुद्ध गरेका थिए ।

बैठक अवरुद्धपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएकाे छ ।

मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलन सम्बन्धि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।