नेपाल भाषा र नेपाली भाषामा लेखिएकाे कविता सङ्ग्रह ‘अर्धब्रह्म’ लाेकार्पण

काठमाडौं, २८ चैत । नेपाल भाषा र नेपाली भाषामा लेखिएकाे कवि एवम् रङ्गकर्मी राम के.ए.सी.को कविता सङ्ग्रह “अर्धब्रह्म” को लोकार्पण गरिएकाे छ ।

सद्भाव थिएटरमा घाेडेजात्राकाे दिन उक्त कविता सङ्ग्रह ‘अर्धब्रह्म’ लाेकार्पण गरिएकाे हाे । ७९ वर्षीय मङ्गलमाया श्रेष्ठको विशेष आतिथ्यमा वरिष्ठ कवि तथा कथाकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ कथाकार ध्रुव मधिकर्मी, वरिष्ठ कवि अभय श्रेष्ठ, वरिष्ठ पत्रकार कुमार रञ्जित लगायतले उक्त संग्रह लोकार्पण गर्नुभएकाे थियाे ।

कार्यक्रममा लोकार्पित कृतिमाथि वक्ताको भूमिकामा रहनुभएका साहित्यकारद्वय श्रीओम श्रेष्ठ ‘रोदन’, ध्रुव मधिकर्मी, अभय श्रेष्ठ र वरिष्ठ पत्रकार कुमार रञ्जित लगायतले समीक्षात्मक मन्तव्य राख्नुभएकाे थियाे भने कवि राम के.ए.सी.ले कृति भित्रका केही कविता वाचन गरेर सुनाउनुभएकाे थियाे ।

पुस्तकको ले-आउट र कविताको मर्मानुरूप सुन्दर रेखाचित्र लक्ष्मी लोचना वैद्य, निरज ढकाल, सतीस त्वाती र उत्सव रिजालले गर्नुभएकाे थियाे भने कविता सङ्ग्रह ‘अर्धब्रह्म’मा भित्र एक सय असी पृष्ठ रहेकाे छ भने सैतीस वटा कविता रहेकाे ‘अर्धब्रह्म’ हेर्दै आकर्षक रहेकाे छ ।

एउटै कविता सङ्ग्रहमा नेपाल र नेपाली भाषा गरी दुई भाषामा कविताहरू पढ्न सकिने छ भने दुवै भाषामा समावेश रहेकाले कुनै एक भाषा जान्नेहरूका लागि पनि संग्रह उपयुक्त हुनेछ ।