उपत्यकाकै प्रमुख मानिने भक्तपुरकाे बिस्कामा भैरवको रथ भाँचियाे, मर्मत गरिंदै

भक्तपुर, २९ चैत । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ ।
मङ्गलबार दिउँसो ३ बजेदेखि हजाराैं जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्याइएकाे थियो । फर्काउँदा रथ आज बिहान ३ बजे सुकुलढोकामा ल्याइपुर्याएको थियो । मङ्गलबार रातिनै रथलाई गःहिटी पुर्याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि आज पुनः रथलाई तानेर गःहिटी नजिकि ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो ।
मङ्गलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर चलनअनुसार रथलाई आज दिउँसो ३ बजेसम्म पनि गःपिहटी पुर्याउन सकिएन ।
रथ तान्ने क्रममा मुख्य तीन खावाँ भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिनुभयो । उहाँले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताउनुभयो ।
रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने जात्रा समितिले जनाएकाे छ । रथ जसरी पनि गःहिटी पुर्याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्याउन पर्ने बाध्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको जात्रा समितिले  जनाएकाे छ ।
नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यसिंखेल पुर्याएपछि मात्रै यसिं उठाउने कार्य सुरु हुन्छ । आगामी वैशाख १ गते यसिं ढालेपछि पुनः रथलाई ल्यसिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ ।