टिपतला नाका ‘ब्रेक थ्रु’को सन्दर्भमा खुशी साट्न ५२०० मिटर उचाइको ओलाङ्चुङ्गोलामा ओली (१० तस्बिर)

ताप्लेजुङ २९ चैत । आज बिहानै सामाजिक सञ्जालमा ताप्लेजुङ आउने सन्देश सार्वजनिक गर्नुभएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला पुग्नु भएको छ । उहाँले ओलाङ्चुङ्गोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा रहेको उल्लेख गर्नुभएको थियो । ओलाङ्चुङ्गोला नजिकैको गोला गाउँको तस्बिर सार्वजनिक गर्नुभएका ओलीले ३२०० मिटर उचाइमा रहेको त्यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास नरहेको भन्दै त्यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु रहेको पनि उल्लेख गर्नुभएको थियो ।

त्यहाँबाट फर्केपछि आफ्नो अनुभूति पनि बताउने उल्लेख गर्नुभएका ओली भौतिकपूर्वाधार मन्त्री रघुविर महासेठ, एमाले सचिव योगेश भट्टराई, युवासंघका अध्यक्ष क्षितिज थेवेलगायतका नेतासहित त्यहाँ पुग्नु भएको हो ।

ओलीले ताप्लेजुङ भ्रमणका क्रममा ओलाङचुङगोला टिपतला नाका ‘ब्रेक थ्रु’ का सन्र्दभमा ओलाङचुङगोला टिपतला नाकाको अवलोकन तथा स्थानीयबासीसँग खुशी साट्ने योजनासहित ओली त्यहाँ पुग्नु भएको युवा संघका अध्यक्ष थेवेले जानकारी दिनुभयो । ओलीले आजै तमोर करिडोरको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी आजै ओलीले नेकपा (एमाले) जिल्ला कमिटी ताप्लेजुङको भवन उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ । ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको थेवेले जानकारी दिनुभयो ।