एसीसी प्रिमियर कप आजदेखि, नेपाल मलेसियासँग भिड्दै

काठमाडौँ, ३० चैत । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा सुरू हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्दैछ ।
ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टि–२० अन्तर्राष्ट्रिय खेल दशौँपटकको हो । यसअघि नेपालले आठ खेल जित्दा मलेसियाले एकमा मात्र विजय हासिल गरेको छ ।
टि–२० ढाँचामा हुने एसिसी प्रिमियर कपमा १० टोलीको सहभागी हुनेछन् । तिनलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरब छन् ।
समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । उक्त प्रतियोगताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
खेल तालिकाअनुसार आजै अपराह्न हुने समूह ‘ए’अन्तर्गतको अर्को खेल हङकङ र कतारबीच हुनेछ । नेपाल भोलि कतारसँग र वैशाख ३ गते हङकङसँग भिड्नेछ । समूह चरणको अन्तिम खेल वैशाख ४ गते साउदी अरबसँग हुनेछ । प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।