आजदेखि देशभरका विद्यालय भर्ना अभियान सुरु

काठमाडौं, २ वैशाख । आजदेखि नयाँ शैक्षिक सत्र २०८१ अन्तरगत् देशभर विद्यालय भर्ना अभियान सुरु भएको छ ।

शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार हाे । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ देशैभर भर्ना अभियान सुरु भएको हो ।

गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि नेपाल सरकारले विभिन्न प्रयासहरु गर्दै आएका छन् । गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना अभियान भन्दा अगाडीनै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुगीसकेका छन् ।

वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले बताउनुभयाे ।

यस वर्षदेखि विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएर रित्तो हात फर्किनुपर्ने अवस्था नभएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएकाे छ ।

नेपाल सरकारले वर्षेनी विद्यालय शिक्षामा ठूलो लगानी गरेको र शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदारहरु, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य रहेको उहाँको भनाइ छ ।

सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको भन्दै उहाँले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामर्थ्यले भ्याएसम्म लगानी गर्दै आउनुपर्ने बताउनुभयाे ।