लागुऔषध मुद्दामा कञ्चनपुरमा मात्रै २१६ जना पक्राउ

कञ्चनपुर, ३ वैशाख । बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुव्र्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०/९१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन् । उहाँका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ ।

“अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा सङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ”, प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, “प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ । स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ ।”

जिल्लाका लागुऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकीछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । “सीमा बस्तीदेखि सदरमुकामसम्म लागुऔषधको कारोबार देखियो”, उहाँले भन्नुभयो, लागुऔषध मुद्दामा पक्राउ गरेका अधिकांश युवा छन् ।

“कारागारमा ३८ प्रतिशत कैदीबन्दी लागुऔषध मुद्दाका छन्”, प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, “यसको नियन्त्रणका लागि प्रहरीसँगै सामूहिक प्रयास आवश्यक छ ।” लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसित पनि समन्वय गरिरहरेको उहाँले बताउनुभयो ।