आज चैतेदसैँ, बिहानैदेखि विभिन्न धार्मिकस्थलहरूमा भक्तजनको घुइँचो

काठमाडाैं, ४ वैशाख । आज चैतेदसैँ । चैत्र शुक्ल अष्टमी र रामनमवीका अवसरमा बिहानदेखि देहभरीका विभिन्न धार्मिकस्थलहरूमा भक्तजनको घुइँचो लागेकाे छ ।

चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ । त्यस्तै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन् ।

धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदसैँमा हजारौँ भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताउनुभयो । नवरात्र सुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन आएका उहाँले बताउनुभयो ।

त्यस्तै चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रमबाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औँसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ । यस वर्ष पनि चैत कृष्ण औँसीदेखि सुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सम्पन्न हुने भरतपुर महानगरपालिका–२३ का अध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो । विक्रमबाबाको दर्शन गर्नाले सन्तान प्राप्ति र सुखशान्ति हुने जनविश्वास छ ।

मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।