जनबहाः द्यःको रथलाई तानेर असन पुर्याइयाे

काठमाडौं, ४ वैशाख । वर्षा र सहकालका देवता मानिने जनबहाःद्यःको रथलाई तानेर असन पुर्याइएकाे छ ।
जात्राकाे पहिलाेदिन मलको तीन धाराबाट रथ तानेर असनमा पुर्याइएकाे हाे । जात्राकाे भोलिपल्ट दिउँसो असनबाट रथलाई तानेर हनुमानढोका दरबारमा रहेको कालभैरवको अगाडि पुर्याईन्छ ।
त्यस्तै, जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानेर लगन टोलमा पुर्याईन्छ ।
लगनटोलको मध्यभागमा रहेको ठूलो रुख अर्थात् मां सिमा (करुणामयको आमा) को तीनपल्ट परिक्रमा गराई भोलिपल्ट बिहान जनबहाःद्यःलाई फर्काई केही दुरीसम्म रथ तान्ने परम्परा रहेको छ ।
उक्तदिन बेलुकी साइत हेरी जनबहाःद्यःलाई रथबाट निकाली पहिलेकै सानो खटमा राखीजात्रा गरी जनबहालमा फर्काईन्छ ।
जनबहालमा पुगेपछि गुरुज्यू तथापुजारीहरुले विधिपूर्वक पूजा गरी जनबहाःद्यःलाई स्वागत गरी भित्र्याइन्छ । अन्तमा देवतालाई प्रतिस्थापन गरीसकेपछि जनबहाःद्यःको जात्रा विधिवत रुपमा समाप्त हुन्छ ।
वर्षा र सहकालका देवता मानिने जनबहाःद्यःको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ।