अहिलेको सत्ता सहकार्यले जनतामा केही आशा पलाएको छः ओली

ललितपुर, ८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीले आफ्नो देश आफैँ बनाउने हो भन्दै सरकारले ‘म बनाउँछु मेरो देश’ भन्ने अभियानलाई अघि बढाउन सकोस् भनी शुभकामना दिनुभएको छ । नेकपा (एमाले)को प्रथक राष्ट्रिय प्रतिनिधि परिषद् प्रथम बैठकलाई सम्वोधन गर्दै यस्तो उल्लेख गर्नुभएको हो । उहााले एमाले कुनै पनि अतिवादको विरुद्धमा एमाले रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले एमाले सत्ता बाहिर रहँदा पनि सदाचारको अटल निष्ठाका कारण भ्रष्टाचारका सबै फायल खोल्नु भनेको स्मरण गराउनुभयो । ‘अहिले पनि हामी सरकार भ्रष्टाचारका सबै फायल खोल्न तयार हुँदा सहयोगका लागि तयार छौँ,’ उहाँले भन्नुभयो, ‘समुन्नति र आत्मनिर्भरको बाटोतर्फ तत्कालिन नेकपा नेतृत्वको सरकार अघि बढ्दै गएको अवस्थामा ती कुरा स्वीकार्य र पाच्य नभएपछि अदालतको सहारा लिएर सरकार ढालेको स्मरण पनि गराउनुभयो । ‘त्यसैबेला परमादेशबाट रोपेको गलत विऊले राम्रो बाटो लिन सकेन,’ उहाँले भन्नुभयो, ‘नेकपा नेतृत्वको सरकार ढालेर बनेको परमादेशी सरकारका पालामा संवेदनशील राष्ट्रिय प्रश्नमा मौन बस्ने जस्ता प्रवृत्ति बढ्दै गयो । सरकारले विदेश नीतिमा सन्तुलन गमायो र राष्ट्रिय हितका पक्षमा मौन बस्दा राष्ट्र कमजोर हुने अवस्था देखियो ।’
विकास निर्माणलगायतका कुरामा ध्यान नदिँदा अर्थतन्त्रका सबै सूचकहरु कमजोर हँुँदै गएको, सामाजिक सुरक्षा र स्वास्थ्य विमाको रकम दिन समस्या मात्रै होइन स्थानीय तहमा जाने बजेट पनि रोकिने जस्ता अवस्था देखिएको पनि उहाँले उल्लेख गर्नुभयो । ‘गठबन्धनको सरकारका पालामा विचौलिया, कालोबजारी मौलाउन थाल्यो । निश्चित घरानीयाको घेराबन्दीमा करका दर हेरफेर गर्ने काम भयो । सत्ता संरक्षण तस्करी बढ्दै गयो,’ उहाँले भन्नुभयो, ‘त्यसमा राज्य संयन्त्र नै संलग्न भयो । त्यो चिन्ताजनक विषय थियो ।’
उहाँलेगठबन्धनको गलत क्रियाकलापले विदेश पलायन बढेको पनि उल्लेख गर्नुभयो । ‘गत वर्ष मात्रै ७ लाख बढी युवा बाहिरिए,’ उहाँले भन्नुभयो, ‘तर त्यतिबेलाको गठबन्धनले नेकपा (एमाले)को विरोध बाहेक केही गरेन । आफुले काँक्रा चोरेर वियाँ अरुका मुखमा टाँस्ने काम भयो ।’ ओलीले अहिलेको सत्ता सहकार्यले भने जनतामा केही आशा पलाएको उल्लेख गर्नुभयो । ‘निर्णायक शक्तिका रुपमा विकास गर्ने र निर्वाचनका माध्यमबाटै शक्तिशाली बन्ने रणनीतिमा थियौँ,’ उहाँले भन्नुभयो, ‘तर, निर्वाचनसम्म पर्खिदा जनविरोधी गठबन्धनले मुलुकलाई थप कमजोर बनाउने भएपछि त्यसलाई भत्काएर तुलनात्मक रुपमा राष्ट्रको हितमा हुने शक्तिलाई समावेश गरेर नयाँ सत्ता समीकरण गर्ने काम कुशल रणनीतिसहित अघि बढ्यौँ र हामी सफल पनि भयौँ ।’
उहाँले नयाँ सत्ता सहकार्यबाट अलिकति भए पनि आशा पलाएको भन्दै एमाले व्यक्तिगत स्वार्थमा भन्दा पनि देशको हित नै एमालेका स्वार्थ ठानेर अघि बढेको उल्लेख गर्नुभयो । दिगो, परिणामुखी र सफल बनाउन सँधैँ तयार रहेको उल्लेख गर्नुभयो । ‘हामी छिमेक नीतिप्रति संवेदनशील छौँ । हामी सकारात्मक र सहयोगी हुनुहोस् भन्ने चाहन्छौँ । हाम्रो मूल आधार नै त्यहि हो । अर्थतन्त्र मन्दीबाट बाहिर निकालेर चलाएमान बनाउन चाहन्छौँ,’ उहाँले भन्नुभयो, ‘विकास निर्माणको गति तिव्ररुपमा अघि बढाउन चाहन्छौँ ।’
वामपन्थी धु्रविकरणबारे अहिले तत्कालनका लागि नसोचेको पनि उहाँले उल्लेख गर्नुभयो । नेकपा (एमाले)लाई यो वर्ष संगठन सुद्धीकरण र सुदृढीकरण वर्षका रुपमा अघि बढाउने पनि ओलीले जानकारी दिनुभयो । बैठकमा करीब २४ सय प्रतिनिधि सहभागी छन् । बैठक भोलिसम्म चल्ने छ ।