महासचिवको ३३ पृष्ठे सांगठनिक प्रतिवेदनः पार्टी निर्माणमा १३ समस्या, समाधानका २० उपाय

ललितपुर, ८ वैशाख । नेकपा (एमाले)को आजबाट सुरु प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सुरु भएको छ । बैठकमा ६ वटा प्रतिवेदशन प्रस्तुत भएका छन् । महासचिव शंकर पोखरेलले संगठनात्मक कामको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।  प्रतिवेदन पेश गर्दै उहाँले पार्टी निर्माणका क्षेत्रमा १३ ओटा कमजोरी औँल्याउनु भएको छ ।

उहाँले १३ ओटा कमजोरीलाई सुत्रबद्ध गर्दै प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । पहिलो अध्ययन र प्रशिक्षणको कमी, दोस्रो पार्टी सदस्यताको मापदण्डको पालनामा समस्या, तेस्रो ठूलाआकारका कमिटीहरुको सञ्चालनमा समस्या रहेको छ ।

त्यसैगरी पाँचौँ समस्यामा दक्षिणपन्थी अवसरवाद, संगठननात्मक अराजकता र गुटबन्धीको समस्यालाई देखाउनु भएको छ भने छैटौँ समस्यामा गैर–भौगोलिक क्षेत्रका कामको संयोजनमा समस्या र सातौँमा पार्टी काम र कार्यकर्ताको मूल्याङ्कनको समस्या अनि आठौँमा पहिचानका मुद्धाममा केन्द्रित हुने समस्या रहेको छ ।

नवौँ समस्यामा पार्टी कामको दोहोरपनाको समस्या दसौँमा काठमाडौं उपत्यकामा पार्टी कामको व्यवस्थापनको समस्या अनि ११ औँमा परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या रहेको छ । १२ औँमा जनसंगठनको प्रभावकारी परिचालनको समस्या र १३ औँमा आदर्श र व्यवहारबीचको समस्या देखाउनु भएको छ ।

उहाँले यी समस्यालाई समाधान गर्दै संगठनात्मक कामलाई व्यवस्थित गर्न तथा पार्टीको राजनीतिक कार्यदिशा र कार्यभार अनुरुपको पार्टी निर्माणका लागि २० बुँदे कार्ययोजना अघि सारेको पनि स्मरण गराउनु भएको छ ।
२० बुँदा यस्ता छन् ।
१) वैचारिक स्पष्टता, बुझाई र गराइमा एकरुपता
२) राज्यसंरचना सापेक्ष पार्टी सङ्गठनको निर्माण
३) नीति र विधिनिर्माणमा केन्द्रित महाधिवेशनको आयोजना
४) सकारात्मक सोँच र रचनात्मक व्यवहारको विकास
५)विधिसम्मत पार्टी सञ्चालन
६) पार्टी सदस्यता विस्तार र गुणस्तरमा वृद्धि
७) दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताका विरुद्धको वैचारिक संङघर्ष
८) आर्थिक सामाजिक विकासमा अगुवाई गर्ने पार्टी पङ्क्तिको निर्माण
९) पार्टी सम्बद्ध सङ्गठनहरुका बीच घनिष्ट सम्बन्ध र समन्वय
१०) पार्टी जीवनको लोकतान्त्रीकरणको सिर्जनात्मक प्रयोग
११)पारदर्शी असल आचरण र जीवनशैलीको विकास
१२) नेतृत्व विकास र हस्तान्तरणको विधिसम्मत प्रणाली
१३) जनसम्बन्धको विकास र विस्तार
१४) सामाजिक र सामुदायिक सङ्गठनमा पार्टी नेतृत्व स्थापित गर्ने
१५) समग्र प्रवासको कामको व्यवस्थापन
१६) संसदीय क्षेत्र, सरकार र पार्टीको नेतृत्व स्थापित गर्ने
१७) विभिन्न तहका निर्वाचनको तयारी
१८) जनसरोकारका कामका क्षेत्रमा पार्टीको नेतृत्व स्थापित गर्ने
१९) सामाजिक सेवा र लोककल्याणकारी कार्य गर्ने
२०) पार्टी केन्द्रीण् कार्यालयको भवन निर्माण गर्ने