एमाले प्रतिनिधि परिषद्को बैठक आज समूहगत छलफल र नेतृत्वलाई सुझाव दिंदै सकिने
काठमाडौं, ९ वैशाख । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै महासचिव शंकर पोखरेलले संगठनात्मक कामको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा हिजो पेस भएका प्रतिवेदनउपर आज समूहगतरूपमा छलफल हुने भएको छ ।
प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची छ । बैठकमा अध्यक्ष ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदनले समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।
एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४ सय ५४ जना प्रतिनिधि सहभागी छन् ।
एमालेले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने, मुलुकमा जबाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।