नेपाल र कतारबीच ६ वटा विषयमा द्विपक्षीय समझदारीसहित हस्ताक्षर
काठमाडौं, १२ वैशाख । नेपाल र कतारबीच ६ वटा द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल भ्रमणमा रहनुभएका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै सम्झौतामा हस्ताक्षर भएको हो ।
सहमतिपत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गर्नुभएकाे छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको हाे ।
यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।
होटल सोल्टीको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।