पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माणमा स्थानीयकाे चासो

म्याग्दी १२ वैशाख । म्याग्दीका स्थानीय तहले पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो देखाउन थालेका छन् ।

संरक्षण र मर्मत सम्हारको अभावमा वर्षौदेखि अलपत्र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको मर्मत, पुनःनिर्माण, संरक्षण तथा प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तह सक्रिय भएका हुन् ।

तत्कालिन पर्वत राज्यको मुकाम रहेको म्याग्दीको बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट ताकम र ज्यामरुककोटका ऐतिहासिक देवल र पुरातात्विक सम्पदा पुनःनिर्माण भइसकेका छन् भने कतिपय सम्पदा पुनःनिर्माण तथा मर्मत भइरहेका छन् ।

संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका यहाँका मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्विक तथा शिखरशैलीका देवल, मठ मन्दिर, कुवा, धारा, ओखलआदि सम्पदाप्रति स्थानीय तहका जनप्रतिनिधि र समुदायले चासो देखाउन थालेपछि प्रदेश र सङ्घीय सरकारले समेत आवश्यक बजेट बिनियोजन गर्न थालेको यहाँका जनप्रतिनिधिहरु बताउँछन् ।

कतिपय स्थानीय तहमा रहेका ऐतिहासिक, प्राकृतिक, धार्मिक र पुरातात्विक सम्पदा स्थानीय तहबाट नै बजेट विनियोजन गरी सुधार, मर्मत तथा पुनःनिर्माण समेत गरिएको छ ।

बेनी नगरपालिका वडा नं ७ र वडा नं ६ मा रहेका ऐतिहासिक तथा प्राकृतिक महत्वका चौतारी, मठ, झोलुङेगे पुल, पोखरी, पाटी पौवाआदि नगरपालिकाको बजेटबाट नै पुननिर्माण भएका हुन् ।
त्यसैगरी धवलागिरि गाउँपालिका वडा नं ७ को ताकम कोतको पुनःनिर्माणपछि जिल्लाकै आकर्षक पर्यटकीय स्थल बनेको स्थानीय गोपाल आचार्यले बताउनुभयो ।

त्यस्तै तत्कालिन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुकोटस्थित खड्गभवानी कोतलाई गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र समुदायले पर्यटकीय स्थल बनाउनका लागि लगानी गरिरहेका छन् । यहाँ पूर्वाधारहरु निर्माण हुन थालेपछि सामरिक र ऐतिहासिक स्थल ज्यामरुककोटको अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकहरु आउन थालेका हुन् ।

विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ ।

करिव छ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र गण्डकी प्रदेश सरकारको पहलमा धमाधम पूर्वाधारहरु निर्माण भए पछि यहाँ पर्यटकहरु आउन थालेका छन् । विकासको उज्यालोले यो ऐतिहासिक स्थल उज्यालिदै गएको स्थानीयले बताएका छन् ।

अहिले यो पुरानो सम्पदाको मौलिक स्वरुप नबिग्रने गरी पुनःनिर्माण गरिने भएको छ । सामरिक स्थलको मौलिकस्वरुप नबिग्रने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत रहनेगरी पुनःनिर्माण गर्नका लागि डिपिआर तयार गरेको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ । ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

समुद्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएको कार्कीको भनाइ छ ।