प्रथम महिला राष्ट्रपतिका नजरमा मनमोहनः सरल, भद्र र उच्च कम्युनिष्ट आदर्शयुक्त व्यक्ति (भिडियो)

ललितपुर, १३ वैशाख । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाएको छ । प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यतामा आयोजना गरेको सो कार्यक्रममा मनमोहनको जीवन समेटिएको ‘जीवनगाथा’ पुस्तक समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा सम्वोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मनमोहनलाई २०४६ सालको जनआन्दोलनका सुरु हुनु अघि वामपन्थी एकता निर्माण गर्ने सिलसिलामा विराटनगरमा चिनेको पनि स्मरण गर्नुभयो । जनआन्दोलनको सफलतापछि अर्थात् २०४७ सालतिर विराटनगरबाट काठमाडौंँ आउँने क्रममा मनमोहन अधिकारी, भरतमोहन अधिकारी, मदन भण्डारी र आफू सँगसँगै एउटै बसमा यात्रा गरेको पनि उहाँले स्मरण गर्नुभयो । अधिकारीको सरलता, भद्रता, उच्च कम्युनिष्ट आदर्शयुक्त व्यक्तित्ववाट त्यतिबेला नै प्रभावित भएको पनि उहाँले स्मरण गर्नुभयो ।

भण्डारीले मनमोहनलाई यसरी सम्झिनुभयो

२०४६ सालको जनआन्दोलनका सुरु हुनु अघि वामपन्थी एकता निर्माण गर्ने सिलसिलामा तत्कालिन नेकपा माक्र्सवादीका नेता मनमोहन अधिकारी तथा तत्कालिन नेकपा (माले)का नेताहरु मदनकुमार भण्डारी, सीपी मैनालीबिच भेट हुने क्रममा मैले पनि सानोतिनो भूमिका निर्वाह गरेको स्मरण गर्न चाहन्छु । उहाँहरुबिच भेटघाट तथा छलफल बढ्दै जाँदा मैले पनि मनमोहन अधिकारीलाई पटक–पटक भेट्ने अवसर पाएको थिएँ ।
त्यसैगरी जनआन्दोलनको सफलतापछि अर्थात् २०४७ सालतिर विराटनगरबाट हामी काठमाडौंँ आउँने क्रममा मनमोहन अधिकारी, भरतमोहन अधिकारी, मदन भण्डारी र मसँगसँगै एउटै बसमा यात्रा गरेका थियौँ । मनमोहन अधिकारीसँग भएका ती सुरुवाती भेटघाट र चिनजानदेखि नै म उहाँको सरलता, भद्रता, उच्च कम्युनिष्ट आदर्शयुक्त व्यक्तित्ववाट प्रभावित भएको थिएँ । २०४६ साल माघ २ गते जनआन्दोलनका लागि संयुक्त वामएकताको गठन भयो ।
त्यतिबेला तत्कालिन नेकपा माक्र्सवादी र नेकपा (माले)का बिचमा निकटता बढ्दै गएपछि २०४७ पुस २२ गते एकीकरण भएर बनेको नेकपा (एमाले)को अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी बन्नुभएको थियो । २०४९ सालको माघ १४ देखि २० सम्म भएको एमालेको पाँचौँ महाधिवेशनले जनताको बहुदलीय जनवादलाई बहुमतका साथ पारित गरेको थियो भने त्यो महाधिवेशनबाट पनि अधिकारी अध्यक्ष र भण्डारी महासचिव निर्वाचित हुनुभएको थियो ।

तर, २०५० साल जेठ ३ गते रहस्यमय जिप दुर्घटनामा परि जननेता मदन भण्डारीको निधन भएपछि खाली हुन भएको काठमाडौं क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको उपनिर्वाचनमा मलाई पार्टीले उम्मेदवार बनायो ।

म निर्वाचित भएपछि अधिकारीसँगको भेटघाट अझ बाक्लो भयो । तर, त्यहिबेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०५१ सालमा संसद विघटन गरी भएको मध्यावधी निर्वाचनमा कुनै दलले पनि प्रष्ट बहुमत प्राप्त गर्न सकेन । त्यसैले संसदमा सबै भन्दा ठूलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (एमाले)को ऐतिहासिक ९ महिने कम्युनिष्ट सरकार बनेको थियो ।

अधिकारीको नेतृत्वमा अघि सारको आफने गाउँ आँफै बनाउँ र जेष्ठ नागरिकका लागि बृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरु मार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी कार्यक्रम गर्छ भन्ने दृष्टान्त प्रस्तुत गर्न अधिकारी सफल हुनुभयो ।

मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट सुरु गरेको वृद्धभत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमका रुपमा रहेको छ । यो कार्यक्रमले जेष्ठ नागरिकहरुप्रति राज्य, समाज र परिवारमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरुको आत्मसम्मान बढाउन ठूलो योगदान गर्नुका साथै जीवन यापनमा पनि महत्वपूर्ण सहयोग पुर्याएको छ ।

जेष्ठ नागरिकहरुको सम्मानमा थालनी गरिएको यस कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले जेष्ठ नागरिकहरुका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागन गर्ने काम गरेको छ । जसले गर्दा अहिले पनि मनमोहन अधिकारीलाई देशभरीका जेष्ठ नागरिकहरुले आफ्नो सच्चा मित्र र असल नेताका रुपमा सम्झिन्छन् र सम्मान गर्छन् ।

अधिकारीको सिङ्गो जीवन नयाँ पुस्ताले अनिवार्य पढ्नै पर्ने खुला किताव जस्तै छ । आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन । मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुमा रहेको उन्नतस्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुला वातावरण र स्वतन्त्र वातावरण पाएका छौँ । इतिहासका धरोहर मनमोहन अधिकारी हाम्रा लागि सधैँ प्रातःस्मरणीय हुनुहुन्छ र रहिरहनु हुनेछ ।