ईश्वरका नजरमा मनमोहनः प्रतिकूल अवस्थामा पनि जिम्मेवारीपूर्वक काम गर्ने नेता

ललितपुर, १३ वैशाख । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी शासन सत्तामा रहँदा मात्र होइन अत्यन्त प्रतिकूल अवस्थामा पनि जिम्मेवारीपूर्वक काम गर्ने नेता भएको स्मरण गर्नुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसका अवसरमा सम्वोधन गर्दै उहाँले यस्तो भन्नुभएको हो ।

‘उहाँको निधन भएको २५ वर्ष भएको छ । उहाँको निधन लगत्तै नेकपा (एमाले)ले उहाँका योगदानहरुलाई चीरस्थायी बनाउने उदेश्यले मनमोहन स्मृति प्रतिष्ठान बनाएको हो,’ पोखरेलले भन्नुभयो, ‘त्यसयता यो प्रतिष्ठानले अनेक क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आएको छ । प्रत्येक वर्ष स्मृति दिवसको कार्यक्रम आयोजना गर्ने र जेष्ठ नागरिकहरुलाई देश–दर्शनको आयोजना गर्ने गर्दै आएको छ ।’

पोखरेलले अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । अनेक उत्तारचढाव खेप्नुभएका नेता मनमोहन भन्दै पोखरेलले कम्युनिष्ट आन्दोलनभित्र देखापर्ने कुनै पनि अतिवादमा अधिकारी नपर्नुभएको पनि उल्लेख गर्नुभयो ।

स्वभाव र विचारमा नरम देखिए पनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा उहाँ रहनुभएको भन्दै अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न–बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।