नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता भोलिदेखि
काठमाडौं, १४ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ टोलीवीचको टि–ट्वान्टी शृङखला भोलिदेखि सुरु हुने भएको छ ।
वेस्ट इन्डिजको ‘ए’ र नेपालबीचको पहिलो खेल भोलि कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इन्डिजको ‘ए’ टोलीबीच पाँच खेल सम्मेलित टी–२० शृङ्खला हुँदैछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।
नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।