गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी मोर्चाको निर्णय

काठमाडौं, ६ जेठ । विपक्षी दलको बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ ।
आइतबार बसेकाे विपक्षी मोर्चाको बैठकले सो निर्णय लिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयाे ।
गृहमन्त्री लामिछानेको जवाफ चित्त बुझे मात्रै संसद अगाडि बढ्ने उहाँले बताउनुभयाे ।
कांग्रेस लगायत विपक्षी दलहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन् ।
सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन अर्को बैठक पनि बसिरहेको छ ।