काठमाडौं महानगरले चलायो गौशालाका घरमा डोजर
काठमाडौं, ६ जेठ । गौशाला चोकमा रहेका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।
अतिक्रमित संरचना हटाउन महानगरपालिकाले चार वटा डोजर प्रयोग गरिएको थियाे ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गौशालादेखि एयरपाेट जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरु भत्काउन सुरु गरिएको जानकारी दिए । आज पहिलो दिन ६ वटा घरहरु भत्काइएको छ ।
काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।