प्रेमिकालाई जिस्काएकाे निहुमा ट्राफिक प्रहरीको हत्या, नावालकसहित ७ जना पक्राउ

काठमाडौं, ६ जेठ । दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरीजवान युवराज घिमिरेको हत्या आराेपमा प्रहरीले ७ जनालाई पक्राउ गरेर सार्वजनिक गरेकाे छ ।
प्रहरीजवान घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार ७ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
काठमाडौंको तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान घिमिरेको गत शुक्रबार हत्या भएको थियाे । प्रहरी जवान घिमिरेको शव निर्माणधीन दुइतले घरमा भेटिएको थियो।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका- १ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ की २१ वर्षीया बिपना, बसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की छन्।
त्यस्तै नुवाकोटको तानी गाउँपालिका-४ ओखरे घर भएकी २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक छन्।
उनीहरू सबैजना बालाजु, जरंखु, मनमैजु लगायतका स्थानहरूका निर्माणाधीन घरहरूलाई आश्रय लिएर बस्ने गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ।
प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट सचिन र अञ्जली लिभिङ टुगेदरमा भएकाे र प्रहरी जवान घिमिरे बिहीबार आफ्नो ड्युटी सकेर एक होटलमा खाजा खान गएका बेला सोही होटलमा सचिन र अञ्जली पनि भएकाे जनाएकाे छ ।
प्रहरीका अनुसार सोधपुछका क्रममा सचिनले बिहीबार प्रहरी जवान घिमिरे खाजा खान गएको होटलमा आफू पनि अञ्जलीसँगै रहेको बताएका छन्। त्यहाँ घिमिरेले अञ्जलीलाई जिस्काएपछि आफूलाई रिस उठेको उनले प्रहरीलाई बताएका छन्।
त्यसपछि उनले आफू र अञ्जलीलाई हरियोचौरसम्म पुर्याइदिन आग्रह गरेका थिए। प्रहरी जवान घिमिरेले नै सचिन र अञ्जलीलाई मोटरसाइकलमा राखेर हरियोचौरस्थित निर्माणाधीन घरमा पुर्याएका थिए।
एसएसपी रजौरेका अनुसार युवराजलाई पहिलेदेखि नै त्यहाँ रहेका विपना, नुरमाया, बुद्ध, अमृत र नाबालकले अन्धाधुन्द इटा, रड, बेल्ट र ढुंगा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । हत्यापछि प्रहरीजवान घिमिरेकाे शव ठाउँ परिवर्तन गरी घरभन्दा केही बाहिर छोपेर राखिएको थियो ।
प्रहरीजवान घिमिरेसँग भएको पैसा लगेको हुनाले लुटपाट गरी हत्या भएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ । उनको साथमा २ हजार रुपैयाँ लगेको खुलेको छ । पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।