वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न सहज भएसँगै ४५ अंकले बढ्यो नेप्से

काठमाडाैं, ६ जेठ । बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न सहज भएसँगै नेप्से परिसूचक बढेर बन्द भएकाे छ ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २.२६ प्रतिशत अर्थात ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको हाे । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक बढेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेसँगै त्यसको सकारात्मक प्रभावत यस दिनको बजारमा परेको देखिन्छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३२३ स्टकको ७४ हजार ९९१ पटकको कारोबारमा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमालयन लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माण्डु हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन फस्ट माइक्रोफाइनान्सको साढे ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड नाघेको छ।