कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि टुंगोमा पुगेन
काठमाडौं, १० जेठ । संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि निष्कर्ष बिहीन बनेको छ । बिहीबार दिउँसो कानुन मन्त्रालयमा कार्यदलको बैठक बसे पनि कुनै टुंगोमा भने पुग्न सकेन ।
सत्तारुढ र प्रमुख प्रतिपक्ष आ–आफ्नो अडानमा कायमै रहेका कारण टुंगोमा पुग्न नसकेको हो । शीर्ष तहमा छलफल गरेर शुक्रबार विहान फेरि बैठक बस्ने कार्यदलका सदस्यहरुको भनाई छ ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गर्दै आएको संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन पटकपटक बैठक बसे पनि त्यसले टुंगो लगाउन सकेको छैन ।
जेठ ५ मा प्रमुख दलका शीर्ष नेताहरुले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल बनाएको थियो । तर, पटकपटकका बैठकमा पनि कार्यादेशमा सहमति जुट्न सकेको छैन