आज काठमाडौं उपत्यकामा धण्टाकर्ण (गथामुगः)चाड मनाईदै

काठमाडौं, १७ साउन । काठमाडौं उपत्यकामा प्रत्येक बर्ष साउन शुक्लपक्ष चतुदर्शीका दिन ‘गथामुगः’ अर्थात् घण्टाकर्ण चाड मनाउने गरिन्छ । धण्टाकर्ण(गथामुगः) चाड घर घरमा दुख दिने भूत पिशाचहरु जस्ता दुष्टात्माहरुलाई भगाएर पठाउने उद्देश्यले मान्ने गरिन्छ । यस चाडमा विभिन्न टोलहरुको दोबाटोमा नर्कटको घण्टाकर्ण बनाइ ठड्याइन्छ र कपडाका स—साना पुतलीहरु त्यस दिन नर्कटको घण्टाकर्णमा विहान झुण्ड्याउन लैजाने गरिन्छ ।

ghanta-karna3

यस दिन घर—घरमा सम्पूर्ण परिवारका सदस्यहरुले केही नहोस् भनेर फलाम अथवा पञ्च–धातुको औँठी विहानदेखि लगाउने गरेको पाइन्छ । ती औँठीहरुलाई टोलमा उभ्याएर राखेको गठेमंगललाई छुवाएर लगाएमा भूत–प्रेत पिशाच आदिले दूःख दिन नसक्ने हुन्छ साथै त्यस्तो औंठीलाउने व्यक्तिहरु अनेक रोगहरुबाट बच्न सकिन्छ भन्ने जन विश्वास पाइन्छ । त्यस्तै त्यस दिन विहानै देखि बच्चाहरुको लुगाको टुनामा ‘भ्वासीपासी’(सानो नासपाती) अथवा ज्यामीर बानेर झुण्डयाइदिने चलन रहेकोछ । प्रायःजसो त्यसदिन नेवार समुदायमा ‘ग्वारचा’(पानीरोटी ), मःम आदि बनाइ खाने गरेको पाइन्छ । उक्त दिन साँझ परेपछि दोबाटोमा रहेको घण्टाकर्ण(गथाःमुग) वागमतीमा फाल्न लगेपछि प्रत्येक घरका मानिसहरुले आ–आफ्नो घरमा बौः(माटोको पालामा जाँडको कः, चोका बजी, काँचो आन्द्रा एक टुक्रा, फोक्सो, रगती, बौ स्वाँ, कालो ध्वजा आदि राखेको हुन्छ जसलाई नेपाल भाषामा बौः भन्ने गरिन्छ) मा घरका परिवार सबैको रौं, कपडा, नगं आदिको सानो सानो टुक्राहरु राखी जाँड रक्सी, फलफूल धूप–दीप आदि राखी पूजागरी घरको थकाली वा घरको कुनै लोग्ने मानिसले कसैलाई नबोलिकन, कसैलाई नछोइकन, कसैले ननाघिनेगरी आफैले घर बाहिर नजिकैको दोबाटोमा राखेर आउँछन् । त्यसपछि घर फर्कदा घर बाहिर नै हातखुट्टा धोई आउँछन् । यस दिन आफ्नो घरको मुल ढोकाको चौकोस माथि त्रिभूज आकारको चुच्चो परेको किला मन्त्रसिद्धि जन्तरलाइ च्याप्नेगरी ठोकीसकेपछि त्यसलाई धुप दीप सहित पूजागर्ने गरिन्छ ।

ghantakarna1

यसरी नै प्रत्येक तल्लाको ढोकाको चौकोसहरुमा उक्त किला र जन्तर ठोकी पूजा धूपदीप गरी पूजा गर्ने गरिन्छ । गोकुल धुप बाली छिंडी देखि ढोका बन्द गरी आई माथि बसी टीका लगाइ समय्बजी(च्यूरा) खाने प्रचलन छ । यस्तो गर्दा भूत प्रेत पिशाच आदि दुष्ट तत्वहरुले घर–परिवारमा कुनै दुःख पीडा आदि दिन सक्दैन भन्ने जन विश्वास पाइन्छ । कहि कहिं यस दिन भ्यागुटोले भूत देखाई दिएको भन्दै भ्यागुटोलाई पनि पूजा गर्ने चलन छ । यस दिन विहानै देखि भित्री शहरहरुमा यो चाड मनाउन डोरीले बाटो बन्द गरेर चन्दा माग्ने जस्ता विकृतिहरु पनि आजभोलि बढ्दै गएको पाइन्छ । कुनै पनि चाडलाई समय सापेक्ष हुनगेरी र सभ्य तरीकाले मनाउने हो भने ती चाडहरु समाजमा पाच्य र दीर्घकालिन रुपमा प्रचलनमा रहन्छ अन्यथा यस्ता चाडहरु विस्तारै लोप हुने खतरा पनि उतिकै हुन्छ । त्यसैले हामीले हाम्रो संस्कृतिको संरक्षण र प्रबद्र्धनमा जोड दिने हो भने सम्बन्धित पक्षहरु सवै मिलेर समयमै विचार गर्नु आजको आवश्यकता हो ।

gathemangal5