प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सुरु

maitrinews

hearing

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ ।
समितिले पाकिस्तान, ब्राजिल र संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत तथा संयुक्तराष्ट्र सङ्घीय कार्यालय, भियनामा खटिएर जाने स्थायी प्रतिनिधिको आज सुनुवाइ गरेको छ ।
परराष्ट्र सेवामा रहनुभएका सहसचिव सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाश सुवेदी र डा दुर्गाबहादुर सुवेदीको सुनुवाइ भएको छ । समितिले प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारीबाट सुनुवाइ प्रारम्भ गरेको हो ।
त्यसअघि बैठकको प्रारम्भमा उजुरीकर्तालाई बोलाएर जानकारी लिइएको थियो । प्रस्तावित राजदूतमाथि विभिन्न विषयसँग जोडेर नौवटा उजुरी परेका छन् ।
सरकारले परराष्ट्र सेवाका आठ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका १४ गरी २२ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले लामो समयदेखि खाली रहेका राजदूत पदमा नियुक्तिका लागि विभिन्न व्यक्तिको नाम छनोट गरी संसदीय सुनुवाइका लागि पठाइएको हो ।
संसदीय सुनुवाइ समिति गठनमा भएको ढिलाइ तथा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले सुनुवाइको काम ओझेलमा परेको थियो ।
साउन १८ गते ।