पर्यटन क्षेत्रमा सोचे जस्तो काम गर्न सकिएन : पर्यटनमन्त्री पोखरेल

काठमाडौं, १७ साउन । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा गर्नैपर्ने थुप्रै कार्यहरु गर्ने प्रयास गरेको वताएका छन् । पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले मंगलवार काठमाडौ.मा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले अझै धेरै कमगर्न सक्ने अवस्था भएको भएपनि सरकार परिवर्तनको खेलले त्यो गर्न नपाइएको वताए ।
उनले आफुले गरेका धेरै कामहरु मध्ये नेपाल बुद्धिजमको उद्गमस्थल हो भनेर प्रचार गराउन सक्नु आफ्नो ठूलो उपलब्धी भएको चर्चा गरे । त्यस्तै मन्त्रालयको प्रस्तावअनुसार नेपालको स्वास्थ्य र शिक्षाका विषयमा ध्यान दिंदै योगको सुरुवात गरेको बताए । नेपाल आउने पर्यटकलाई नेपालकै अर्गानिक परिकार खुवाउनुपर्छ भन्ने मान्यताअनुरुप पर्यटनसँग जोडेर १० वर्षे दिर्घकालिन कृषि रणनीति तयार पार्न सहयोग पुर्याएको बताए । पर्यटन क्षेत्रको अहिलेको लगानीलाई १ सय गुणा नबढाईकन सोचेअनुरुप पर्यटनको विकास हुन नसक्ने उनको भनाई रहेको छ ।
मन्त्री पोखरेलले एयरपोर्ट (विमानस्थल)को विषयमा सुधार गर्न नसकेको भन्दै दुखेसो व्यक्त गरे । उनले भने, ‘फेर्न खोजेको र फेर्न नसकेको भनेको एयरपोर्ट हो । तर जे जति भएको छ देखिनेगरि भएको छ । सामान्य कर्मचारीलाई फोन गरेर सुधार गर भन्नुपर्ने अवस्था छ । एयरपोर्टको काम प्रति म सन्तुष्ट छैन ।’ एयरपोर्टका जुनसुकै स्तरका श्रमिक, कर्मचारीहरुलाई अनावश्यक फेरबदल गर्न नपाईने व्यवस्था गरेको भन्दै कर्मचारीले पनि इमान्दारीताफूर्वक काम गर्नुपर्ने उनले बताए ।
नीजि पर्यटन व्यवसायीप्रति लक्षित गर्दै उनले नेपालका पर्यटकीय सम्पदा सबैका साझा सम्पदा हुन भन्ने बुझ्न आग्रह गरे । सम्पदाको व्यवस्थापन र राजश्व संकलनमा आबधिक टेन्डर गर्ने प्रक्रिया सुरुवात नगर्ने हो भने सरकारको दायित्व पनि नरहने उनको भनाई थियो ।