‘गुँ ला’ धर्म आज देखि प्रारम्भ, किन मनाईन्छ त ‘गुँ ला’ धर्म ?
काठमाडौँ । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व आज बुधबारदेखि सुरु हुँदैछ । गुंलाथ्व प्रतिपदा तिथी देखि एक महिनासम्म स्वयंम्भू लगाएत बौद्ध तीर्थहरुमा विहान सवेरै गई भगवान बुद्धको दर्शन गर्ने गरिन्छ। गुं ला भनेको नेपाल संवत्को नवौं महिना हो । श्रावण शुल्क प्रतिपदा देखि भाद्र कृष्ण औंसि सम्मको उत्त महिनाको अवधिलाई काठमाडौं उपत्यकाका बौद्ध नेवारहरुले गुंलाधर्म भनि विभिन्न धार्मिक क्रियाकलापहरुगरी मनाउँछन् । विहान सवेरै विभिन्न टोलका विहारहरुबाट भक्तजनहरु परम्परागत वाजा गुंलाबाजा वजाइ स्वयम्भू महाचैत्यको परिक्रमा, पूजा–आजा गर्दछन् गुंलाको अवसरमा विहारहरुमा बौद्ध–स्तोत्रहरु पनि विहान बेलुकी पाठ गर्दछन् । यस अवसरमा विहारका संघका सदस्हरु मिलेर नामसँगीति र अन्य बौद्ध स्तोत्रहरु महिनाभरि नै पाठ गर्ने गरिन्छ ।
यो अवसरमा लक्ष–चैत्य वनाउने भनेर विहान–विहान साँचो विधि प्रयोग गरी कालो माटोको चैत्य वनाउने गरिन्छ । काठमाडौंको धेरै ठाउँमा यस कामको लागि गुठी नै स्थापना गरिएको पाइन्छ । महिना भरिमा सवा लाख स–साना चैत्यहरु निर्माणगरी गुं लाको अन्तिम दिन पूजा–आजागरी तीर्थस्थल वा नदीमा लगेर बगाइन्छ । बौद्ध विहारहरुमा गुंला अवधिभर धर्म–देशना गर्ने कार्यक्रम पनि चलेको पाइन्छ ।
गुंला धर्मको अर्को विशेषता विहारहरुमा दीपंकर बुद्धहरुको प्रदर्शन गर्नु हो । श्रावण द्वादशीको दिन देखि नौ दिनसम्म वहाल, वहिलहरुमा गौत्तम बुद्ध एवं दीपंकरका मूर्तिहरु सार्वजनिक प्रदर्शनीका लागि राखिन्छ । सोही प्रचलन अनुसार वहाल र वहिलहरुमा वहिद्यःब्व गर्ने भनी अन्य विभिन्न महत्वपूर्ण वस्तुहरु पनि प्रदर्शनीको लागि राखिन्छ । वहाल तथा वहिलमा वस्ने बौद्धहरु ती दीपंकरबुद्ध लगायत प्रदर्शनी गरी राखेका महत्वपूर्ण वस्तुहरु हेर्न साँझतिर गुंलाबाजा सहित जाने गरेको पाइन्छ । यस्तै ठमेलको भगवान वहालमा सुनले लेखेको अक्षर भएको ग्रन्थ पाठ गरेर वस्ने हुँदा इच्छा भएका व्यक्तिहरुले हेर्न जाने गर्दछन् । त्यस्तै इटुं वहालमा गुरुमापाले गरेका क्रियाकलापको चित्र आदि बनाएर प्रदर्शनी गरिराखेको हेर्न जाने गरिन्छ । त्यस्तै खुशी वहीःमा तेमाख्वापा (ठूलो नराम्रो मुकुट) प्रदर्शनी गर्ने भएको हुनाले यो पनि हेर्न जाने चलन रहेको पाइन्छ । यस्तै न्हायंक वहिःमा पनि पुराना लुगा–फाटाहरु र श्रृंगारका सामानहरु प्रदर्शनीमा राख्ने भएकोले पहिलाका पुस्ताहरुले कस्तो किसिमको पहिरन लाउँथे र कसरी श्रृंगार गर्दथे भन्ने थाहा पाउन मान्छेहरु हेर्न जाने गर्दछन् । गुंला महिनाको समाप्तिको भोलिपल्ट मानिसहरु गुंलाधर्म पूर्ण भएको उपलक्ष्यमा स्वयम्भूको पूजागरी भोज खान्छन् जसलाई पारु भ्वय् भनिन्छ ।
यसै सन्दर्भमा एकमहिने ‘गुँला’ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू क्षेत्र विकास महासमितिले जनाएको छ । प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको अवधिभर सञ्चालन हुने उक्त उपलक्ष्यमा आउने भक्तजनको सहजताका लागि आवश्यक स्वयंसेवक तथा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।
काठमाडौँ उपत्यका तथा वरपर क्षेत्रबाट आउने भक्तजनले सहभागिता जनाउने उपलक्ष्यमा स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा सरसफाइका साथै तथा खानेपानीको व्यवस्था मिलाइएको छ । भक्तजनलाई आवश्यक परेमा सामान्य स्वास्थ्योपचारको व्यवस्था र एम्बुलेन्स तैनाथ अवस्थामा समेत राखिएको समितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो । महासमितिले त्यस क्षेत्रको पुनःनिर्माणका लागि खर्च गर्नु परेकाले यस पटक व्यवस्थापनका लागि विगतमा भन्दा कम अर्थात् करिब रु तीन लाख छुट्याएको स्वयम्भूका पुजारी बाबुराजा बुद्धाचार्यले जानकारी दिनुभयो ।