नेपाली सेना सबै जनताको सेना : सेनापति

चितवन । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना राष्ट्र र राष्ट्रियताको विषयमा जनताको साथमा रहेको बताउनुभएको छ ।
पवित्र तीर्थस्थल देवघाटमा आज आयोजित बोलबम मेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली सेना सबै जनताको सेना भएको भन्दै सेनापति क्षेत्रीले राष्ट्रको स्वाधीनता र हितविपरीत काम हुन नदिने बताउनुभयो । जनताको साथमा काम गर्नका लागि सेना तयार रहेको उहाँको भनाइ थियो ।
देवघाट संरक्षण प्रतिष्ठान चितवनद्वारा आयोजित सो मेलाकै अवसरमा देवघाटमा निर्माण गर्न लागिएको ३० फिट अग्लो शिव मूर्तिको समेत उहाँले शिलान्यास गर्नुका साथै शिवको मन्दिरमा पूजा आराधनासमेत गर्नुभएको थियो ।

मूर्ति रु ३० लाखको लागतमा निर्माण गर्न लागिएको हो । सो अवसरमा बोल्दै उहाँले देवघाटमा हुने यस्ता मेला महोत्सवले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बताउनुभयो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, समाजसेवी मैयादेवी श्रेष्ठ, डा हेमराज कोइराला, महेश सन्यास आश्रमका गुरु प्रसाद सुवेदीलगायतले बोल्नुभएको थियो ।

साउन १९ गते ।