देवघाटमा स्नान गर्ने व्रतालुको भीड

devghat

चितवन । पवित्र तीर्थस्थल चितवनको देवघाटमा आज साउन महिनाको सोमबार बिहानैदेखि भक्तजनको भीड देखिएको छ । पहँलो बस्त्र लगाएर खाली खुट्टामै भक्तजन मेला भर्न आएका छन् ।
वर्षकी पवित्र महिनाको पनि आज सोमबार पवित्र दिन भएकाले शिवको पूजा आराधना गरे पुण्य मिल्ने विश्वासमा भक्तजन आएका हुन् । रत्ननगरबाट मेला भर्न पुगेका रामकृष्ण शर्माले मनको विश्वासका लागि देवघाट नुहाउन आएको बताउनुभयो । उहाँले मनोकामना पूरा हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

तीनवटा सोमबार गरेर झन्डै एक लाख दर्शनार्थीले मेला भरेका छन् । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले साउन महिनाभरि बोलओम महोत्सव नै आयोजना गरेको छ ।

आइतबार साँझदेखि नै यहाँ आएर रातभर जाग्राम बसेर भजनकीर्तन गरेका झक्तजन आज स्नान गरी शिवलाई गङ्गाजल र बेलपत्र चढाएर फर्कने गर्दछन् ।

चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाट पर्छ । योपटक मेलामा लोप हुँदै गइरहेको भानुभक्तीय रामायणलाई सङ्गीतको धुनमा प्रस्तुत गरिएको र एक हजार आठ शिवमन्त्रद्वारा होम चलिरहेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिनुभयो ।

चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, कपिलवस्तु, लमजुङ, तनहुँ, गोर्खा, धादिङ, काठमाडौँलगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् । यस्तै भारबाट समेत खाली खुट्टामा मेला भर्न आउँछन् ।

हरेक सोमबार ३० देखि ३५ हजार भक्तजन देवघाटमा स्नानका लागि आउने अपेक्षा देवघाट क्षेत्र विकास समितिले गरेको छ ।

महोत्सव आयोजक समितिले धार्मिक पर्यटक आकर्षित गर्न ३० फिट अग्लो शिवको मूर्ति स्थापना गर्न काम थालेको देवघाट क्षेत्र विकास समितिका पूर्व सदस्य टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।

यसैबीच चितवनको रत्ननगर, माडी, पर्सा, भण्डारा, भरतपुरको महाकालेश्वर मन्दिरलगायत शिवालयमा बिहानैदेखि पूजा गर्ने भक्तजनको भीड देखिएको छ ।

साउन २४ गते ।