नेविसङ्घका अनसनकारी सापकोटा र ढुंगेलको अवस्था चिन्ताजनक

maitrinews

काठमाडौँ । विधिवत् महाधिवेशनको माग गर्दै १२ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका नेविसङ्घका नेता गणेश सापकोटाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि ओम अस्पतालमा भर्ना गरिएको छ ।

नेपाली काँग्रेसको सानेपास्थित मुख्यालयमा बसेर आमरण अनशन सुरु गर्नुभएका नेता सापकोटालाई तीन दिनअघि काठमाडौँ मोडेल अस्पताल भर्ना गरिएको थियो ।
नेविसङ्घका केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले दिनुभएको जानकारी अनुसार, चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सापकोटालाई ओममा भर्ना गरिएको हो । मङ्गलबार विद्यार्थी नेता सापकोटाको शरीरले स्लाइन लिन छाडेको र हात खुट्टा काँप्न थालेपछि उहाँको स्वास्थ्य अवस्था चिन्ताजनक भएको केन्द्रीय सदस्य तिमिल्सिनाले बताउनुभयो ।
सँगै आमरण अनशन बस्नुभएका अर्का विद्यार्थी नेता रत्नहरि ढुङ्गेलको अवस्था पनि गम्भीर रहेको उल्लेख गर्दै उहाँलाई पनि बुधबार ओममै भर्ना गर्ने तयारी छ ।
यसैबीच, नेविसङ्घको महाधिवेशन स्थल भृकुटीमण्डपमा विद्यार्थीले आमरण अनशन बसेका नेताहरूको जीवन रक्षाको माग गर्दै मङ्गलबार प्रदर्शन गरेका थिए ।

साउन २६ गते ।