संरक्षित क्षेत्र हुनुपर्ने लाप्चा समुदायको माग

इलाम, २६ साउन । इलाममा मात्र बसोबास गर्ने लोपोन्मुख सूचीमा रहेका लाप्चा समुदायले स्थानीय निकायको पुनःसंरचना गर्दा लाप्चा समुदायको संरक्षित क्षेत्र हुनुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तहको नामाकरण गर्दा लाप्चा जातिको ऐतिहासिकतालाई ध्यान दिँदै गाउँपालिका, नगरपालिकाकोे नामाकरण गर्दा लाप्चा जातिको ऐतिहासिक थाँतथलोलाई आधार बनाउनुपर्ने र लाप्चालाई संरक्षित क्षेत्र हुनुपर्नेमा जोड दिएका हुन् ।

स्थानीय पुनःसंरचनामा लोपोन्मुख रोङ लाप्चा समुदायको स्वायत्त क्षेत्र विशेष संरक्षित क्षेत्रका संरचनागत अवधारणासम्बन्धी छलफल कार्यक्रममा लाप्चा उत्थान मञ्च फिक्कलका अध्यक्ष वीरबबहादुर लाप्चाले इलामका विभिन्न गाविस र नगरपालिकामा बसोबास गर्ने लाप्चा समुदायसँग सम्बन्धित तथा लाप्चाको ऐतिहासिकतालाई आधार मानेर स्थानीय तहको नामाकरण हुनुपर्ने बताउनुभयो ।

इलाम जिल्लाको स्थानीय निकायको पुनःसंरचनामा प्रस्तावित तहको सीमाङ्कनमा आफ्नो समुदायको कुनै असहमति नरहे पनि सो क्षेत्रको नामाङ्कन गर्दा भने लाप्चा समुदायको ऐतिहासिक पृष्ठभूमिलाई ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।

लाप्चा जातिको बसोबास नरहेका क्षेत्रको नामाकरण गर्दा समेत विशेष संरक्षित क्षेत्र, गाउँपालिका र नगरपालिकामा समावेश भएका वडाको नामाकरण लाप्चा जातिकै भाषाबाट राख्नुपर्ने माग लाप्चा समुदायको छ ।

रोङ से जुम्ठी भवन फिक्कलमा भएको छलफलमा कानुन व्यवसायी जसबहादुर लुङ्गेलीले नेपालको कानुनले सबै जातिलाई बराबर अधिकार दिनुपर्ने भन्दै सबै जातिको पहिचान हुने खालको पुनःसंरचना हुनुपर्ने बताउनुभयो ।

मानवअधिकार मञ्च इलामका अध्यक्ष मोहनसिंह थेवेले स्थानीय निकायको पुनःसंरचना हुँदा लाप्चा समुदायको आफ्नो ऐतिहासिकता जोगाइदिनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय निकायको पुनःसंरचनामा इलाममा तीन नगरपालिका र पाँच वटा गाउँपालिका प्रस्ताव गरिएको छ ।

अहिले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जिल्लामा सरोकारवालासँग छलफल गरिरहेको र सबैको परामर्श र छलफलबाटै पुनःसंरचनाको खाका तयार पारिने समितिका संयोजक तथा स्थानीय विकास अधिकारी मदन कोइरालाले बताउनुभयो ।