फेवातालमा बेपत्ता दुईजनाको शव फेला

maitrinews

fewatal
पोखरा । गत सोमबार फेवातालमा भएको डुङ्गा दुर्घटनापछि बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ ।चार दिनयता लगातार बेपत्ताको खोजी गरिए पनि आज बिहान मात्र उनीहरूलाई मृत अवस्थामा फेला पारिएको हो ।

बेपत्ता भएका काठमाडौँ चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र काठमाडौँ वसुन्धराका २३ वर्षीय एलिन केसीको शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

आज पनि बिहानैदेखि बेपत्ता व्यक्तिको खोजी सुरु गरिएकोमा बिहान ७ः०० बजेतिर शव पानीमा तैरिएको अवस्थामा फेला परेको थियो ।

प्रहरी, सशस्त्र प्रहरी र माझीको समूहले डुङ्गा दुर्घटना भएको भन्दा दक्षिणी क्षेत्रलाई केन्द्रित गरेर शव खोजिएकोमा दुर्घटना भएको भन्दा करिब ३०० मिटर दक्षिणमा केसीको शव भेटिएको थियो ।

केसीको शव भेटिएको करिब आधा घन्टापछि प्रतीक श्रेष्ठको शव पनि पानीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

कास्की प्रहरीका अनुसार श्रेष्ठको शव केसीको शव भेटिएको भन्दा करिब ३०० मिटर दक्षिणमा र डुङ्गा दुर्घटना भएको भन्दा करिब ६०० मिटर दक्षिणमा भेटिएको हो ।

मृतक दुवैको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । परीक्षणपश्चात् आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । मृतकका आफन्त यसअघि नै पोखरा आइसकेका छन् ।

साथीसहित पोखरा घुम्न आएका उनीहरु सोमबार दिउँसो तालपारि घुम्न गएकामा खाना खाएर तालवारि फर्कने बेलामा भएको दुर्घटनापछि बेपत्ता भएका थिए ।

दुर्घटनापछि अन्य छजनाको भने सकुशल उद्धार गरिएकामा उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।

साउन २७ गते ।