माओवादीका थप पाँच मन्त्रीले आज शपथ लिँदै

prachand3

माओवादीका थप पाँच मन्त्रीले आज शपथ लिँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले पाँच जना मन्त्रीको नाम तय गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादीका तर्फबाट जनार्दन शर्मा ऊर्जा, राम कार्की सूचना तथा सञ्चार, हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास, धनीराम पौडेल शिक्षा र अजयशङ्कर नायकलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सरकारमा सहभागी गराउने तयारी गरिएको छ ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार ती दलले क्रमशः १३ र आठ मन्त्रालय लिने सहमति भएको छ । नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण काँग्रेसबाट मन्त्री पठाउन ढिलाइ भएपछि आज प्रधानमन्त्रीले आफ्नो पार्टीका भागमा परेको मन्त्रीको शपथ ग्रहण गराउन लाग्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेसविज्ञ माधव शर्माका अनुसार आज अपराह्न ३ बजे नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ । यही साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि प्रधानमन्त्री दाहालले साउन २० गते माओवादी केन्द्रबाट तीन र काँग्रेसबाट दुई मन्त्री नियुक्त गर्नुभएको थियो ।
यस्तै यही साउन २७ गते राप्रपाका दुई र नेकपा ९संयुक्त०का बाट एक सांसदलाई मन्त्रीको कार्यभार दिनुभएको थियो । शनिबार राष्ट्रपतिले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइका बारेमा चासो राखेपछि प्रधानमन्त्रीले आज तेस्रो चरणमा मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।
साउन ३० गते ।