पाँचजना मन्त्री तथा चार नवनियुक्त राज्यमन्त्रीद्वारा शपथ

maitrinews

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो ।

विस्तारित मन्त्रिपरिषद्मा जनार्दन शर्मा (ऊर्जा), सुरेन्द्र कुमार कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) ले मन्त्री पदको शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त चारजना राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्री श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विकलाई शपथ गराउनुभएको हो ।

वर्तमान मन्त्रिपरिषद्मा राज्यमन्त्रीत्रय जबेगुले सङ्घीय मामिला तथा स्थानीय विकास भगतले ऊर्जा र तामाङले कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ । राज्यमन्त्री विकलाई भने अहिले कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

उहाँहरु चारैजना नेकपा माओवादी केन्द्रका सांसद हुनुहुन्छ । समारोहमा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्रीलाई फूलमाला र टीका लगाएर स्वागत गर्नुभयोे । समारोहमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा तथा अन्य मन्त्री उपस्थित हुनुुहुन्थ्यो ।