प्रचण्डको कार्यशैलीले माओवादीमा अनिष्टको संकेतः महिला आक्रोशित, टोपबहादुर र प्रभुहरु टाढिदैँ

मैत्री विशेष समाचारदाताबाट—
काठमाडौँ । एमाओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बने पनि मन्त्री छनोटमा सन्तुलन नमिलाएपछि माओवादी भित्र विवाद चर्कोरुपमा उठेको छ । पार्टी भित्र महिला, आदिवासी–जनजाति, मधेसी, उत्पिडित कसैको पनि सन्तुल नमिलाएपछि प्रचण्डको चर्को आलोचना सुरु भएको हो । मधेसी समूदाय जति रुष्ट भएका छन् त्यो भन्दा बढी महिला रुष्ट भएका छन् । मन्त्रीले सपथ खाने बेलामा समेत बहिष्कार गरेका महिलाहरुले प्रचण्डको खुलेरै आलोचना गरेका छन् । माओवादी सांसद सिता नेपालीले त जनयुद्धको लाइनकै अपमान गरेको भन्दै चुप लागेर नवस्ने चेतावनी दिनुभएको छ ।
‘हामी लामोसमयसम्म युद्ध लडेको प्रणाली परिवर्तनका लागि हो,’ नेपालीले भन्नुभयो, ‘अहिले नेतृत्वले जुन खालको कार्यशैली प्रदर्शन गर्यो यसले जनयुद्धकै खिल्ली उडाएको छ ।’ नेपालीले नेतृत्वको शैलीले दुःख लागेको र लज्जित भएको प्रतिक्रिया दिनुभयो । ‘हामीले निकै ठूलो संघर्ष र वलिदानीबाट नेपाली जनताले चाहेको संविधान जारी गरेका छौँ । संविधान जारी गर्ने सन्दर्भमा हाम्रो भूमिका निकै महत्वपूर्ण छ,’ निकै आक्रोस व्यक्त गर्दै उहाँले भन्नुभयो ‘हामीले संविधान निर्माणका चरणमा राम्रो भूमिका खेल्न सकेका थिएनौँ भने पार्टी नेतृत्वले किन त्यसैबेला कारवाही गर्न सकेन् ? हामीलाई किन त्यसैबेला असक्षम घोषणा गर्न सकेन ? हामी त्यस्ता असक्षम नै थियौँ भने किन हामीलाई सभासद् बनाइयो । ’
नेपालीले राष्ट्र प्रमुख महिला, सभामुख महिला, प्रधानन्यायाधिस महिला देशले प्राप्त गर्नुको उपलब्धी शसस्त्र जनयुद्धकै जग भएको भन्दै जनयुद्धको नेतृत्व गर्ने पार्टीले नै महिलाको अपमान गर्दा दुःख लागेको बताउनुभयो । नेपालीले नेतृत्वको निर्णयलाई चुप लागेर सहने पक्षमा नरहेको पनि दाबी गर्नुभयो । ‘हामी विगतमा पनि अधिकारका लागि लड्दै आएका थियौँ । अहिले पनि लडिरहेका छौ, आगामी दिनमा पनि हामी लडिरहने छौ ।’ उहाँले नेतृत्वको मनपरीलाई हेरेर वस्दा झन् अपमानित हुने पनि बताउनुभयो । नेपाली मात्र होइन अन्य महिला सांसद्ले पनि नेतृत्वको कार्यशैलीको आलोचना गरेका छन् ।
त्यसो त मधेसवादी नेताहरुले पनि नेतृत्वको आलोचना गरेका छन् । प्रचण्डको मन्त्री छनोट प्रक्रियाप्रति तिव्र असन्तुष्ट हुँदै मधेसी नेता प्रभु साहले मन्त्री पद नै बहिस्कार गर्नुभयो । उहाँले प्रचण्डको राम्रो लक्षण नभन्दै मन्त्री पद नखाएको बताउँदै आउनुभएको छ । संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिको सभापति समेत रहनुभएका साहले बरु त्यहि पद उचित भएको भन्दै प्रचण्डलाई एक धक्का दिदैँ मन्त्री पद बहिष्कार गर्नुभयो । विगतमा पनि पदकै लागि विभाजनको शिकार बन्दै आएको माओवादी भित्र यो पटक पनि त्यो आशंका पैदा भएको छ । एमाओवादीमा छदाँ डा. बाबुराम भट्टराईका प्रिय पात्र साह असन्तुष्ट हुनुले माओवादीमा फेरि विभाजनको रेखा कोरिने हो कि भन्ने नेताहरुबीच नै गाईँगुईँ हल्ला चलेको छ । त्यसो त केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जा मन्त्री बनेका टोपबहादुर रायमाझी पनि त्यति सन्तुष्ट नभएको बुझिएको छ । रायमाझी पनि बाबुरामका दाहिने हात मानिनुहुन्थ्यो ।
भदौ १ गते ।