टौदहमा आज जनैपूर्णिमाको मेला

काठमाडौँ, २ भदौ । काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुर नगरपालिका–१४ स्थित टौदहमा रक्षाबन्धनका अवसरमा आज मेला लागेको छ ।
प्रत्येक वर्ष जनैपूर्णिमाका दिन उक्त स्थानमा मेला लाग्ने गर्छ । काठमाडौँबाट करिब ११ किमी दक्षिण भेगमा अवस्थित टौदह कर्कोटक नागको बासस्थानका रूपमा परिचित छ । तलाउका रूपमा रहेको काठमाडौँ उपत्यकामा बस्ती बसाल्न मञ्जुश्रीले चोभारको डाँडाबाट पानी निकास गराउँदा त्यहाँ रहेका नागराज कर्काेटकलाई टौदहमा राखिएको किंवदन्ती छ ।
टौदहमा विशेषगरी जनैपूर्णिमा तथा नागपञ्चमीका दिन मेला लाग्ने गर्दछ । आजको दिन काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट मेला भर्नेको घुइँचो लाग्ने गर्दछ । त्यहाँ डोरो बाँध्ने, जनै लगाउने तथा दान दक्षिणा गर्नेको भीड लागेको छ । आजको दिन त्यहाँ मेला भरेमा घर परिवारमा सुख, शान्ति तथा कल्याण हुने जनविश्वास छ ।
स्थानीयवासी राम केसीले हिन्दू धर्मावलम्बीले जनैपूर्णिमा तथा नागपञ्चमीमा विशेष पूजा गरी मेला भर्ने गरेको टौदह ऐतिहासिक समयदेखि नै कर्कोटक तथा उनकी रानीको बासस्थान भएको बताउनुभयो ।