इच्छा कार्की – सुपरमोडेल

maitrinews

4 (1)

क्यानडाको सम्पन्नतालाई छाडेर नेपाल आएकी इच्छा कार्की नेपालको सुपरमोडेल बनेकी छिन् ।
क्यानडा बसाइका क्रममा भौतिक सुविधा, विकास र सम्पन्नताको अनुभव सँगाल्ने मौका त पाइन् तर उनको मनमा घरपरिवार, आफ्नोपन र अस्तित्वको अभाव भने सधै खड्किरह्यो ।
उनी दुईमध्ये एउटा पक्ष रोज्ने निर्णयमा पुगिन् । पहिलो भौतिक सुविधा र सम्पन्नता । दोस्रो आफ्नोपन र अस्तित्व । अन्ततः उनी आफ्नोपन र अस्तित्व त्यागेर जीवन नचल्ने निर्णय गर्दै लगभग ६ वर्षे क्यानडा बसाइपछि सदाका लागि नेपाल फर्किन् ।

नेपाली माटो टेकेसँगै सुपरमोडेल बन्ने उनको सपना पुन ब्युँतियो । संयोग नै भनौं इच्छा नेपाल आउँदा ‘द सुपरमोडेल नेपाल २०१६’ को प्रक्रिया सुरु भएको थियो । उनी पनि सहभागी भइन् । पहिलो प्रयासमै प्रतियोगिताको शीर्ष उपाधि चुम्न सफल भइन् ।
‘मेरो जीवनको एउटा सपना पूरा भएको क्षण हो यो । यो जितसँगै यस क्षेत्रमा मेरो नयाँ यात्रा आरम्भ भएको छ’, इच्छाले भनिन् । ५ फिट नौ इन्च अग्ली २४ वर्षीया इच्छाको व्यक्तित्व, उचाइ एवं शारीरिक बनावटका कारण उनी साँच्चिकै सुपरमोडेल झै लाग्छिन । फिट एन्ड फाइन रहन खानपानमा नियन्त्रण नभई समयमा र स्वस्थ्य खाना खानुपर्ने उनको भनाइ छ ।

2

इच्छाको बुझाइमा मोडलिङ प्रतिभावान् हरेक व्यक्तिका लागि ठूलो प्लेटफर्म हो । ‘मोडलिङलाई फेसनसँग मात्र जोड्नु हुँदैन । यो क्षेत्रमा स्थापित हुन सक्यो भने समाजसेवा, व्यवसाय हरेक क्षेत्रका लागि बाटो खुल्छ’, उनी प्रस्ट्याउँछिन्, ‘नेपालमै केही गर्ने सोच र लक्ष्यका साथ आएकी हुँ ।
मोडेल बन्ने मेरो सपना ब्युँतिएको छ । तर नेपाल आउनासाथ यस्तो अवसर र सफलता पाउँछु भन्ने चाहिँ कल्पना पनि गरेकी थिइनँ ।’ काठमाडौंमा जन्मेकी उनको लक्ष्य छ ‘वल्र्डवाइड रोल मोडेल अफ नेपाल’ बन्नेछ ।
घरपरिवारमा विवाहको कुरा चल्न थालेको धेरै वर्ष भयो । तर अझै सातआठ वर्ष विवाह नगर्ने उनको योजना छ । ‘नेपाली समाजमा छोरीहरू २०, २१ वर्ष पुगेपछि विवाहको कुरा चल्न थालिहाल्छ । मेरो त के बहिनीको विवाहको समेत कुरा चलिसकेको छ’, विवाह बारे उनले भनिन, ‘तर निर्णय आफैंले लिने हो।

आफ्नो पहिचान र करियर बनेपछि बल्ल विवाह गर्ने हो । यसका लागि अझै सातआठ वर्ष लाग्न सक्छ ।’ क्यानडाको टोरोन्टोस्थित क्यानेडियन ब्युटी कलेजबाट एकवर्षे ब्युटिसियन कोर्स गरेकी उनी अहिले नेपालमा अन्तर्राष्ट्रिस्तरको ब्युिटपार्लर सुरु गर्ने तयारीमा छिन् ।

3

कला क्षेत्रमा घरपरिवारको साथ र सहयोग रहेकाले आफूलाई सजिलो भएको उनको भनाइ छ । ‘द सुपरमोडेल नेपाल २०१६ को उपाधि जित्दा आमाबुबा र आफन्त मभन्दा बढी खुसी हुनुभएको थियो’, उनले सम्झिन् ।

तस्बिर : महेश प्रधान