देउवा शुक्रबार सिंगापुर जानुअघि काँग्रेसले मन्त्रीहरुको टुंगो लगाउने, आकांक्षी धेरै भएपछि मन्त्री छान्न सकस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्री छान्न सकस भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने पार्टी सदस्यहरुको मंगलबारसम्म टुंगो लगाई सम्भवत बुधबार उनीहरुको पद तथा गोपनियताको सपथ ग्रहण गराउने तयारीमा देउवा लागि पर्नुभएको छ । तर मन्त्रीका आकांक्षी धेरै भएकाले मन्त्री छान्न सकस परेको हो ।
सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनु अघि सभापति एवम् संसदीय दलका नेता समेत रहेका देउवाले मंगलबार बिहान संसदीय दलको बैठक बोलाउनुभएको छ ।
त्यसपछि उहाँले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ११ जना मन्त्री तथा केही राज्यमन्त्रीहरुको नाम वरिष्ट नेता रामचन्द्र पौडेलसँगको परामर्शमा टुंगो लगाई आफ्नो स्वास्थ्य जाँचका लागि भदौ १० गते शुक्रबार सिंगापुर जाने तयारी गर्नुभएको छ ।
पेटको समस्याबाट पीडित देउवा सिंगापुरस्थित माउण्ट एलिजावेथ हस्पिटलमा स्वास्थ्य जाँचका लागि जान लाग्नुभएको हो ।
यसपटक समय मिलाएर पाँच दिनका लागि श्रीमती आरजु देउवा राणाको साथमा सभापति देउवा सिंगापुर जान लाग्नुभएको हो ।
भदौ ६ गते ।