प्रचण्डको भारत भ्रमणको तिथिमिति दिल्लीले तय गर्नु लज्जाको विषय : परराष्ट्रविदहरु

maitrinews

pushpa_kamal_dahal

काठमाडौं । यस पटक राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमणको तिथिमिति तय गर्ने काम दिल्लीबाटै हुनुु नेपालका लागि लज्जाको विषय भएको परराष्ट्रविद्हरुले बताएका छन् ।

प्रधानमन्त्रीको विशेष दूतका रुपमा दिल्ली पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय अधिकारीहरुसँग कुरा गरेर उतैबाट दुई देशका प्रधानमन्त्रीको वार्ता हुने मिति नै सार्वजनिक गर्नुभएको छ । यसबारे नेपालको परराष्ट्र मन्त्रालय भने यसबारे अझैसम्म बेखबर छ ।

देशको प्रधानमन्त्रीको भ्रमणतालिका अर्को देशबाट तय हुनु नेपालको राष्ट्रिय स्वाभिमान र कूटनीतिका लागि दुर्भाग्यपूर्ण रहेको परराष्ट्रका उच्च अधिकारी तथा विदेश मामिला जानकारहरुले टिप्पणी गरेका छन् ।
दिल्ली भ्रमणमा रहेका मन्त्री निधीले प्रधानमन्त्रीको भारत भ्रमण भदौ २९ देखि असोज १ गतेसम्म तय भएको र भदौ ३० गते नेपाल र भारतका प्रधानमन्त्रीबीच व्दिपक्षीय भेटवार्ता हुने दिल्लीबाटै सार्वजनिक गर्नुभएको छ ।
परराष्ट्रविद् तथा पूर्वपरराष्ट्रमन्त्री डा।प्रकाशचन्द्र लोहनीले दुई देशका विदेश मन्त्रालय र राजदूतावासहरुको द्वीपक्षीय सल्लाहमा तय हुनुपर्ने प्रधानमन्त्रीको भ्रमण अर्कै देशमा तय हुनु लज्जाजनक भएको बताउनुभयो ।
त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भन्नुभयो, ‘हाम्रो देशको प्रधानमन्त्रीको भ्रमणतालिका परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रुपमा नेपाल सरकारबाट तय हुनुपर्नेमा साउथ ब्लकले तय गर्नु भनेको राष्ट्रिय स्वाभिमान समाप्त गर्न लागिएको प्रमाण हो । परराष्ट्र मन्त्रालयलाई थाहै नदिई साउथ ब्लकमा भ्रमणतालिका बन्नुले राष्ट्रघातको गन्ध आइसकेको छ ।’

भदौ ७ गते ।