प्रचण्डले मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको माग

काठमाडौँ । नेकपा (एमाले)ले कांग्रेस–माओवादी गठबन्धनको सरकारले कुटनीतिक मर्यादा विपरित काम गरेको भन्दै आलोचना गरेको छ । एमाले स्थायी कमिटीको निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालयमा अयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो आलोचना भएको हो । परराष्ट्रमन्त्री समेत नियुक्त नभएको अवस्थामा प्रचण्ड नेतृत्वको सरकारले दुई छिमेकी देश चीन र भारतमा विशेषदूत पठाएको भन्दै एमालेले पत्रकार सम्मेलनमै विरोध गरेको हो । ‘सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पदैन सामान्य कुटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी हालै दुई छिमेकी देशहरुमा प्रधानमन्त्रीले विशेषदूत खटाउने काम भएको छ,’ पत्रकार सम्मेलनमा एमालेले भन्यो, ‘संविधानमा संशोधनलगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीबाट भारतीय प्रधानमन्त्रीलाई पत्र पठाएको चर्चा सार्वजनिक भएको छ । यस्तो कार्यले नेपालको स्वाधिनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्याएको छ ।’ त्यस्तो कार्यले आन्तरिक मामिलामा अवाञ्चित बाह्रय चासो निम्त्याउने त्रूटिपूर्ण कार्य भएको भन्दै बैठकले प्रधानमन्त्रीले पठाएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यसैगरी एमालेले तत्कालका लागि नेकपा माओवादी केन्द्रसँग एकता गरेर अघि बढ्ने सम्भावना नरहेको पनि दाबी गरेको छ । ‘एमाले मुद्धा र एजेण्डामा केन्द्रित भएर अघि बढ्छ,’ पत्रकार सम्मेलनमा बोल्दै पार्टी महासचिव ईश्वर पोख्रेलले भन्नुभयो, ‘अहिले माओवादी जुन ‘मिसन’का साथ अघि बढेको छ । यो अवस्थामा माओवादीसँग तत्कालका लागि गठबन्धन गरेर अघि बढ्ने सम्भावना निकै कम छ ।’ महासचिव पोख्रेलले देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर एमाले अगाडि बढ्ने भएकाले माओवादीसँग कुनै बेला एजेण्डा र मुद्दा मिले फेरि गठबन्धन गर्न सकिने दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेले स्थायी कमिटी बैठकले पार्टी भित्र भएका सामान्य अन्तरविरोधलाई समेत हल गरेको भन्दै अब पार्टी एकढिक्का भएर अगाडि बढेको जानकारी दिनुभयो । उहाँले पार्टीभित्र सामान्य अन्तरविरोध छ भन्ने कुरा बाहिर पनि अलिअलि चर्चा हुने गरेको भन्दै अब ती सबै समस्या सकिएको दाबी गर्नुभयो । कार्यक्रममा बोल्दै सचिव भट्टराईले एमाले देश र जनताका लागि सबैसँग नचुक्ने नझुक्ने दाबी गर्नुभयो
भदौ ९ गते ।