अदुअआ प्रमुखको नियुक्तिको सक्कल कागज माग

maitrinews

काठमाडौँ, १० भदौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कल कागजपत्र माग गरेको छ ।

न्यायाधीश दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले आज आयोगका प्रमुख कार्कीको नियुक्तिको सक्कल कागपत्र सरकारसँग माग गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभयो । प्रवक्ता सुवेदीले तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) लोकमानसिंह कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य मन्त्रालयको २०६३ चैत ११ गते पत्रसहितको सङ्कलित फाइल पनि माग गरिएको बताउनुभयो ।
आयोगका प्रमुखमा कार्कीको नियुक्तिविरुद्ध २०७२ मङ्सिर ९ गते अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गर्नुभएको थियो ।