मङ्गलादेवीको सम्झना

काठमाडौँ । नेपाल महिला सङ्घले आफ्ना संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको सम्झना गरेको छ ।

सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज महिला सङ्घको केन्द्रीय कार्यालय धापासीमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सिंहले जहानिया राणा शासनविरुद्ध खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै उहाँले देखाएको बाटामा महिला सङ्घलाई हिँड्न आग्रह गर्नुभयो ।

श्रीमती सिंहका सुपुत्र नेता सिंहले भन्नुभयो, “महिलाको हकहितका निम्ति राणाशासकका विरुद्ध लड्नु आफँैमा जोखिमपूर्ण काम थियो ।” काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले काँग्रेसले मन्त्रिमण्डलमा धेरै महिलालाई पठाउन नसके पनि अन्य क्षेत्रमा उनीहरुको सहभागिता गराइरहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष डा डिला सङ्ग्रौलाले संविधानसभामा महिलालाई ३३ प्रतिशत अधिकार दिइए पनि मन्त्रिमण्डलमा महिलालाई समेट्न नसक्नु दुःखद भएको बताउनुभयो । कार्यक्रममा महिला सङ्घको गतिविधि समेटेर तयार पारिएको ‘नारी सङ्घर्षका पाइला’ नामक पुस्तकको विमोचन गरिएको थियो ।