साताव्यापी ऐतिहासिक जात्राको विधिवत् समापन

 

 जुम्ला, ११ भदौ । भदौ ३ गतेबाट जुम्लामा सञ्चालन भएको कर्णालीको सबैभन्दा लामो साताव्यापी ऐतिहासिक जात्रा विधिवत् रुपमा समापन भएको छ ।

अष्टमीको दिन राति १२ः०० बजे सत्यका प्रतिक भगवान् कृष्णको जन्म भएको सम्झनामा बालक कृष्ण जन्माइएको थियो । कृष्ण जन्मेको दिनलाई बडादिनका रुपमा मनाउन ९ गते रातभरी डेउडा सञ्चालन गरियो । मध्य तथा सुदूपश्चिम नेपालमा प्रचलित डेउडा संस्कृतिका पारखी युवाले पनि कृष्ण र कङ्शको प्रतिविम्बित् भएर डेउडा खेलेका थिए ।

१० गते बेलुकाको ६ः०० बजे संसारमाथि अन्याय अत्याचार गर्ने असत्यको प्रतिक कङ्श (लाखे) माथि सत्यका प्रतिक कृष्णले प्रहार गरी उसको बध गरेका थिए ।

बर्सेनि जात्रालुलाई दुःख दिने वर्षातले यो पटक न्याय गरेको छ । जात्रा धनजनको क्षतिबिना नै सम्पन्न भएको जात्रा संस्कृतिका संरक्षक चित्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।

जात्रामा विदेशी, अन्तर जिल्ला र जिल्लाभित्रबाट ३० हजार नागरिक सहभागी भएको संरक्षक श्रेष्ठको भनाइ छ । “जात्रा सत्यता, धार्मिकता र नैतिकता सिकाउने १२० वर्ष यात्रा पार गरेको महान् पर्व हो, बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न यसको संरक्षण, विकास र प्रवद्र्धन गर्न सबै लाग्नुपर्दछ,” उहाँले भन्नुभयो ।

जात्रामा रुकुम, रोल्पा, सल्यान, दाङ, नेपालगन्ज, बर्दिया, सुर्खेत, जाजरकोट, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, अछाम, कालिकोट, मुगु र डोल्पा जिल्लाको सहभागिता रहेको थियो । कर्णालीका संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्यले पछिल्लो चरणमा जात्राको मौलिक परम्परा एवम् शैली हराएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “वास्तविकता हराउँदा सत्यतामाथिको प्रश्न चिन्ह् खडा हुन्छ, त्यसैले बेलैमा सोच्नुपर्दछ ।” जात्रालुले भने यो संस्कृति मदिरामय भएको रोष प्रकट गर्दै आगामी दिनमा यसको नियन्त्रण गर्न सञ्चालक समितिलाई सुझाएका छन् ।